









७१
Shares
धादिङ: धादिङ उद्योग वाणिज्य संघ को आयोजना तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाडौंको सहयोगमा तीन महिनासम्म सञ्चालन हुने व्यवसाय संवर्द्धन सेवा अभिमुखीकरण तालिम सुरु भएको छ।



तालिमको मुख्य उद्देश्य स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै साना तथा मझौला व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउनु रहेको छ। तालिममार्फत सहभागीहरूलाई व्यवसाय सुरु गर्ने आधारभूत ज्ञान, व्यवस्थापन सीप, वित्तीय अनुशासन, उत्पादन गुणस्तर सुधार, बजारीकरण तथा प्रविधिको प्रयोगसम्बन्धी व्यवहारिक सीप प्रदान गरिनेछ। यसले उनीहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
साथै, स्थानीय उत्पादनलाई बजारसँग जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने र उद्यमीहरूबीच अनुभव आदान–प्रदानको वातावरण सिर्जना गर्नु पनि तालिमको महत्वपूर्ण उद्देश्य रहेको छ। विभिन्न क्षेत्रका व्यवसायमा संलग्न तथा व्यवसाय सुरु गर्न इच्छुक १५ जना सहभागी रहेको उक्त तालिमको आज औपचारिक उद्घाटन गरिएको हो।
संघका अध्यक्ष रामकुमार डल्लाकोटी ले एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी, उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरी, महासचिव तिलक सिम्खडा, सल्लाहकार अशोक कुमार बस्नेत तथा पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्मा लगायतले तालिमको औचित्य र उपलब्धीबारे सहभागीहरूसँग छलफल गर्नुभएको थियो।
अध्यक्ष डल्लाकोटीले व्यवसायिक सीप अभिवृद्धि र स्थानीय उद्यम प्रवर्द्धनका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण हुने बताउँदै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। वरिष्ठ उपाध्यक्ष भण्डारीले साना तथा मझौला उद्यमलाई प्रतिस्पर्धी बनाउन ज्ञान र प्रविधिको प्रयोग आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख पुरीले सरकारले सञ्चालन गरिरहेका उद्यम प्रवर्द्धन कार्यक्रमसँग तालिमलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। महासचिव सिम्खडाले तालिमले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो भने सल्लाहकार बस्नेतले उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जनामा टेवा पुग्ने बताउनुभयो।
पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष शर्माले सूचना र सञ्चारको प्रभावकारी प्रयोगले व्यवसाय विस्तारमा सहयोग पुग्ने उल्लेख गर्दै सहभागीलाई डिजिटल माध्यमको उपयोग गर्न सुझाव दिनुभयो।
सहभागीहरूले तालिमबाट व्यवसाय सञ्चालन, बजारीकरण तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन्। गलैंचा उत्पादन, आरन, कृषि उद्यम, किराना पसल तथा खाद्य सामग्री उत्पादनजस्ता विविध क्षेत्रमा रुचि राख्ने सहभागीहरूले तालिमले आफ्नो व्यवसाय सुरु तथा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
संघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारीका अनुसार तालिम आगामी तीन महिनासम्म सञ्चालन हुनेछ। तालिम समापनपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ भने उद्यम विकासका लागि लगानीकर्तासँग समन्वय गरी व्यवसायिक कार्ययोजना निर्माण र बजार विस्तारमा समेत सहयोग गरिनेछ।






