FLASH NEWS

आज मातातीर्थ औँसी ,आमाको मुख हेर्ने पर्व देशभर श्रद्धासाथ मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख ४, शुक्रबार (३ घण्टा अघि)
  • ३७

    Shares

आज मातातीर्थ औँसी ,आमाको मुख हेर्ने पर्व देशभर श्रद्धासाथ मनाइँदै

काठमाडौँ:    प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गर्दै मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ। यस दिन आमालाई मीठा–मीठा खानेकुरा खुवाउने, राम्रो लुगा लगाइदिने र उहाँबाट आशीर्वाद थाप्ने परम्परा रहेको छ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमालाई उच्च स्थान दिइएको छ। त्यसैले आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्ने विशेष दिनका रूपमा यो पर्वलाई लिइन्छ।

आज बिहानै उठेर नुहाईधुवाई गरी छोराछोरीले आफ्नी आमालाई राम्रा लुगा लगाइदिने र स्वादिला तथा पौष्टिक खानेकुरा खुवाउने चलन छ। जसको आमा जीवित छैनन्, उनीहरूले भने तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाई सम्झने गर्छन्।

सनातन वैदिक शास्त्र अनुसार प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यता छ। धर्मशास्त्रमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति उल्लेख गर्दै आमा र जन्मभूमिको महत्व अत्यन्त उच्च रहेको बताइएको छ।

सन्तानलाई नौ महिनासम्म गर्भमा राखी जन्म दिने भएकाले आमाको स्थान विशेष मानिन्छ। शास्त्रीय ग्रन्थमा बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने उल्लेख गरिएको छ। यही कारण जीवित आमालाई सम्मानपूर्वक खुसी बनाउने र दिवङ्गत आमाको नाममा श्रद्धापूर्वक तर्पण तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ।

वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले सन्तानको सम्झना गर्ने विश्वास गरिन्छ। त्यसैले यस दिन तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरेमा आमाले प्रसन्न भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ।

यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ, जहाँ बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको देखिन्छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस