










१११
Shares
काठमाडौँ : नेपालमा हाल पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। तराई तथा उपत्यकाका थोरै स्थानमा तुवाँलोको अवस्था रहने सम्भावना छ।
आज कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






