
२२
Shares
प्रधानमन्त्री सुशीला कार्की ले **मुक्तिनाथ मन्दिर**को दर्शन गर्नुभएको छ। उहाँ नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुग्नुभएको थियो।



मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथमा प्रधानमन्त्री कार्कीले १०८ धारामा जलसेचन गरी पूजा–आराधना गर्नुभएको हो। मन्दिरसम्म करिब २०० मिटर उकालो पैदल यात्रा गर्ने क्रममा उहाँले स्वदेशी तथा विदेशी दर्शनार्थी तथा पर्यटकसँगसमेत कुराकानी गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिनुभयो।
मुक्तिनाथमा झन्डै एक घण्टा बिताएपछि प्रधानमन्त्री कार्की सेनाको हेलिकोप्टरमार्फत जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गण पुग्नुभएको थियो।
उहाँले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जोमसोमको इन्द्रबक्स गणमा आयोजित निर्वाचन लक्षित छलफल तथा अन्तरक्रियामा उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो।
प्रधानमन्त्री कार्कीले मुस्ताङमा कुनै समस्या नआउने गरी आवश्यक तयारी गर्न पनि आग्रह गर्नुभएको छ। यस अवसरमा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचन केन्द्रित सुरक्षा योजनाबारे जानकारी गराउनुभएको थियो।






