
८५
Shares
थाक्रे: थाक्रे गाउँपालिका वडा नं. ११ मा अवस्थित सरस्वती चिल्ड्रेन पार्क स्कुल (Saraswati Children Park School) ले शैक्षिक गतिविधिलाई कक्षा कोठाभन्दा बाहिर व्यवहारिक रूपमा सिकाउने उद्देश्यका साथ फुड फेस्टिभल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।




विद्यार्थीहरूको समन्वय क्षमता, सामाजिकिकरण, सर्भाइभिङ स्किल, व्यवहारिक ज्ञान तथा उद्यमशील सीप विकास गर्ने लक्ष्यसहित फुड फेस्टिभल आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा ग्यास स्टोभ, रेडिमेड तथा प्रशोधित खाद्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। विद्यार्थीहरूले आफैं योजना बनाउने, समूहमा काम गर्ने, परिकार तयार गर्ने, मूल्य निर्धारण गर्ने, बिक्री–वितरण गर्ने तथा ग्राहकसँग व्यवहार गर्ने जस्ता गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए। यसले उनीहरूलाई पुस्तकीय ज्ञानभन्दा बाहिरको वास्तविक जीवनसँग जोडिएको सिकाइ अनुभव प्रदान गरेको देखिएको छ।
विद्यालयले आफूलाई क्रियाकलापमा आधारित शिक्षामा विश्वास गर्ने संस्था का रूपमा चिनाउँदै यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमहरू समय–समयमा आयोजना गर्दै आएको जनाएको छ। फुड फेस्टिभलजस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने विद्यालयले विश्वास रहेको छ।
अभिभावक तथा शिक्षकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। विद्यालयले आगामी दिनमा पनि जीवनोपयोगी सीप विकासमा केन्द्रित नविन कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमलाई स्वच्छता, स्टल सजावट, परिकारको स्वाद, विविधता तथा नाफा का आधारमा प्रतिस्पर्धात्मक बनाइएको थियो। प्रतिस्पर्धामा विजेता समूहलाई रु. १,०००/- नगद पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रोहित कुमार भण्डारीले टोलटोलको खबर लाई जानकारी दिनुभयो।
उक्त प्रतिस्पर्धात्मक फेस्टिभलमा कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूले १२ वटा फुड स्टल राखी आफूले तयार गरेका परिकारहरू बिक्री–वितरण गरेका थिए।
यसका साथै विद्यालयले विभिन्न खेलकुद प्रतियोगिताहरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ।






