FLASH NEWS

आज शहीद दिवस मनाइदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १६, शुक्रबार (३ घण्टा अघि)
  • ३९

    Shares

आज शहीद दिवस मनाइदै

काठमाडौँ:   प्रजातन्त्रका लागि प्राण आहुति दिने शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै यस वर्ष पनि शुक्रबार शहीद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस मनाइन्छ।

कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गरेका वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा व्यक्त गर्दै मुलुकभर शहीद दिवस सप्ताहका रूपमा मनाउन थालिएको हो।

विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु दोभानमा, माघ १२ गते धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १४ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो।

क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर बन्दी बनाइएको थियो। यस घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर सो समाचार प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भएको हो।

विसं २०११ सालमा नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाएको थियो। त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्षोल्लासमा विसं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा शहीद सप्ताह मनाइएको थियो।

विसं २०१७ सालपछि दलमाथि प्रतिबन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा पर्‍यो। काठमाडौं नगरपालिकाको तहमा मनाइने शहीद दिवस २०४६ सालपछि भने विशेष कार्यक्रमका साथ मनाउन थालियो। काठमाडौं महानगरपालिकाले शुक्रबार पनि विशेष समारोहको आयोजना गरी शहीद दिवस मनाउँदैछ।

लखन थापालाई नेपालको पहिलो शहीद मानिन्छ। त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद—शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिँदै आएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस