
१०३
Shares
काठमाडौँ: फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्रमा खटाइने कर्मचारी व्यवस्थापनको तयारी तीव्र पारेको छ। आयोगले ५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना कर्मचारी खटाउने व्यवस्था गरेको जनाएको छ।



५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन जना स्वयंसेवकसहित कुल नौ जना कर्मचारी खटाइने छ।
यस्तै, ५०० सम्म मतदाता भएका मतदान केन्द्रमा भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ। अस्थायी मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित पाँच जना कर्मचारी खटाइने आयोगले जनाएको छ।
हाल देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती सबै मतदान केन्द्रमा कर्मचारी खटनपटन गर्दा करिब दुई लाख १३ हजार जनशक्ति आवश्यक पर्नेछ।
निर्वाचन व्यवस्थापनका लागि आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय तथा सात वटा प्रदेश निर्वाचन कार्यालयमा समेत कर्मचारी व्यवस्थापन गर्नुपर्नेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्भव भएसम्म जिल्ला न्यायाधीशको नेतृत्वमा, निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिवस्तरका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतस्तरका कर्मचारी तथा सातै प्रदेश निर्वाचन कार्यालयमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा काम गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमार्फत अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटाइने आयोगको तयारी छ।






