धादिङ: संविधान दिवसको अवसर पारेर नेकपा एमाले धादिङले धादिङबेसीमा बृहत् र्याली र कोणसभा गर्ने भएको छ । जेन-जी आन्दोलनपछि दलहरु परिवर्तनशील राजनीतिक अवस्थाबाट गुज्रिरहेको बेला संगठनात्मक एकता र जनआर्कषण पुनर्स्थापित गर्ने योजनासहित असोज ३ गते एमालेले धादिङबेसीमा र्याली निकाल्न लागेको हो । संविधान र लोकतान्त्रिक अभ्यासलाई समर्थन संविधान दिवस जस्तो राष्ट्रिय दिनमा र्याली आयोजना गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।
कार्यक्रम अन्तर्गत पार्टीका सबै तहका अध्यक्ष, प्रमुख, वडाका नेताहरू, युवा सदस्यलाई अनिवार्य उपस्थितिको लागि आव्हान गरिएको छ । यसले कार्यक्रमले पार्टीभित्रको मनोबल बढाउने विश्वास गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले बनाउनुभयो । ‘संविधान दिवसको अवसर पार्टीले संविधान र लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नेछ, साथै वर्तमान राजनीतिक परिवेशमा एमालेको स्थायित्व र जनताको विश्वास पुनः जित्ने संकल्प व्यक्त गर्नेछ’, अध्यक्ष त्रिपाठीले भन्नुभयो ।
एमालेले विगत केही समयदेखि पार्टीभित्र देखा परेका गुट विभाजन, आलोचनात्मक आवाज र सङ्गठनात्मक कमजोरीको सामना गरिरहेको छ। ‘सरकारविरुद्धका विवादहरूले पार्टी नेतृत्व र संगठन दुवैलाई चुनौती दिएका छन्। जनताको ध्यान पार्टीहरूको सिद्धान्त र नेतृत्व क्षमतामा केन्द्रित हुन थालेको छ, जसले एमालेसँग कठोर प्रतिस्पर्धा गरिरहेका दलहरूसँग तुलना गर्ने अवस्था सिर्जना गरेको छ’, एमाले धादिङकि सचिव राधिका सापकोटाले भन्नुभयो-‘नयाँ उर्जाका साथ पार्टीलाई अघि बढाउन र पार्टीमा युवाको आत्मबल बढाउनको निम्ति र्याली आयोजना गरेका हौं ।
जिल्लाभरबाट एमालेमा आवद्ध र एमालेलाई मायाँ गर्ने, एमालेका शुभचिन्तकहरु र्यालीमा सहभागी हुनुहुनेछ ।’ संविधान दिवसमा एमालेले धादिङमा गरेको र्यालीले पार्टीको प्रतिबद्धता, संगठन शक्ति र जनसमर्थन देखाउँदै जेन–जी आन्दोलनपछिको संवेदनशील राजनीतिमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।