६२
Sharesकाठमाण्डौ : भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले दुवै देशमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन भन्दै आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सूचना निकालेर भारतमा रहेका नेपालीलाई सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न पनि अनुरोध गरेको छ ।
सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न दूतावासले अनुरोध गरेको हो ।
कुनै आपतकालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय र सहजीकरण गर्ने सूचनामा उल्लेख छ । भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँ दिल्लीमा रहेको राजदूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न सक्नेछन् ।यस्तै परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिकलाई आवश्यक परेमा इस्लामाबादमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति निकालेर त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकका लागि सम्पर्क नम्बर उपलब्ध गराएको हो ।
मन्त्रालयले यसका लागि तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदको मोबाइल नम्बर उपलब्ध गराएको छ ।दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवम् त्यहाँ रहेका नेपालीले इस्लामाबादमा रहेको नेपाली दूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन् ।