१४
Shares
काठमाडौँ : आज असोज १ गते देशभर भगवान् विश्वकर्माको आराधनासहित विश्वकर्मा पूजा मनाइँदै छ। यस अवसरमा विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गर्ने गरिन्छ।
समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले असोज १ गतेलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ।
विश्वकर्मा पूजाका अवसरमा उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आफ्ना मेसिनरी सामान तथा औजारहरू सफा गरी विशेष पूजा गर्ने गरेका छन्।
यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा पुराना सवारीसाधनलाई समेत विभिन्न शक्तिपीठमा लगेर पूजा गर्ने परम्परा रहेको छ। काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठ तथा मन्दिरमा सवारीसाधन पूजा गर्ने भक्तजनको बिहानैदेखि उल्लेख्य भीड लागेको छ।
विश्वकर्मा पूजाका दिन मेसिन, औजार तथा सवारीसाधनको पूजा गर्दा वर्षभर कुनै दुर्घटना तथा क्षति नहुने धार्मिक विश्वास रहेको छ।






