१०
Shares
काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर आज कुशेऔँशी पर्व मनाउँदैछन्।



प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्ने गरिन्छ। घरमा कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको प्रा. डा. देवमणि भट्टराईले राससलाई जानकारी दिए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गर्छन्। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीहरूसँगै पवित्र कुशको पनि उत्पत्ति गराउनुभएको हो। आज घरघरमा राखिएको कुश वर्षभरि हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ।
कुशेऔँशीका अवसरमा छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्। बाबु नहुनेहरूले विभिन्न पवित्र तीर्थस्थलमा गई दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ।
यस दिन विशेषगरी काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ। उत्तरगयाका रूपमा समेत चिनिने यस स्थानमा मेला लाग्ने भएकाले कुशेऔँशीलाई गोकर्णे औँसीसमेत भन्ने गरिन्छ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न श्रद्धालुको घुइँचो लाग्ने गर्छ। मेलाका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।
यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँशीका अवसरमा मेला लाग्ने गर्छ। दिवंगत पिताको नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न श्रद्धालुहरू वेत्रावती पुग्ने गर्छन्। यद्यपि, यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भइसकेको छैन।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको भोजन खुवाई आशीर्वाद लिएमा सुख प्राप्त हुने विश्वास छ। बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख रहेको बताइन्छ।
आजको दिन थोरै मात्र दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले कुशेऔँशीलाई पुण्य पर्वका रूपमा समेत लिने गरिन्छ।






