३३
Shares
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आज देशका ३० जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ।



विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ।
यस्तै, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी तथा आसपासका जिल्लाका साना नदी तथा खोलामा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ।
महाशाखाले ती क्षेत्रका नदी तटीय तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
विभागका बाढीविद् विनोद पराजुलीले स्थानीय तह तथा सम्बन्धित निकायलाई नदीको अवस्थाको निरन्तर निगरानी गर्न, समुदायमा समयमै सूचना प्रवाह गर्न तथा आवश्यक पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन्।






