FLASH NEWS

खर्केडाँडा सालक पार्क साकुराले सजिँदै, पर्यटन प्रवर्द्धनको अपेक्षा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण १८, सोमबार (१ घण्टा अघि)
  • २८

    Shares

खर्केडाँडा सालक पार्क साकुराले सजिँदै, पर्यटन प्रवर्द्धनको अपेक्षा

धादिङः धादिङको धुनिवेशी नगरपालिका–८ स्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको खर्केडाँडा सालक पार्कमा ७० वटा साकुरा (हिमालय चेरी/पैयुँ) का बिरुवा रोपिएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा मित्रताको प्रतीकस्वरूप उक्त वृक्षारोपण गरिएको हो।

नेपालले जापानलाई मित्रताको चिनोका रूपमा उपहार दिएको पैयुँ (हिमालय चेरी) लाई जापानले संरक्षण र प्रवर्द्धन गर्दै आएको छ। जापानको राष्ट्रिय फूलका रूपमा परिचित साकुराका ३०० भन्दा बढी प्रजाति रहेका छन्। जापानी अधिकारीहरूका अनुसार नोभेम्बरतिर फूल्ने साकुरा जापानमा करिब दुई दिनमै झर्ने भए पनि नेपालमा भने करिब १० दिनसम्म फुलिरहने गर्दछ।

नेपालमा विशेषगरी काभ्रेको नमोबुद्ध, जाजरकोट र धादिङ क्षेत्रमा पाइने पैयुँको संरक्षण तथा प्रवर्द्धनका लागि यो अभियान महत्त्वपूर्ण मानिएको छ।

काठमाडौंबाट सहज पहुँचमा रहेको तथा त्रिभुवन राजपथसँग जोडिएको रमणीय खर्केडाँडा सालक पार्कमा रोपिएका साकुरा सफलतापूर्वक हुर्कन सके यस क्षेत्रको प्राकृतिक सौन्दर्य थप अभिवृद्धि हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ। साकुरा वृक्षारोपण अभियानलाई सफल बनाउन विशेष पहल गरेका दिनेश लोहनीले यस अभियानले वातावरण संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

धुनिवेशी नगरपालिकाको आयोजना तथा लभ ग्रीन नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा तारु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, लभ ग्रीन नेपालकी अध्यक्ष अमिरा दली, जापानी प्रतिनिधिमण्डल तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार यो अभियान नेपाल–जापान मित्रताको प्रतीकका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनतर्फको महत्त्वपूर्ण कदम हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस