३०
Shares
काठमाडौं : लघुवित्तबाट लिएको कर्जा खारेज, ब्याज तथा जरिबाना मिनाहा र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।



देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन तथा नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागीहरूले लघुवित्त संस्थाहरूले चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार आर्थिक संकटमा परेको दाबी गरेका छन्। साथै, लघुवित्तका कर्मचारीबाट दुर्व्यवहार तथा अनावश्यक दबाब खेप्नुपरेको गुनासो पनि उनीहरूले गरेका छन्।
पीडितहरूको भनाइ अनुसार सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि हालसम्म माग सम्बोधन नभएको छ। उनीहरूले कर्जा खारेज, ब्याज र जरिबाना मिनाहा तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने विषयमा ठोस निर्णय नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।
आन्दोलनका कारण केही समय माइतीघर क्षेत्रसहित काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र नाराबाजी भएको थियो।






