






२८
Shares
धादिङ : जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्ने सफलता हासिल गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको असार महिनाको मूल्याङ्कनअनुसार धादिङ प्रहरी पहिलो स्थानमा परेको हो।



नेपाल प्रहरीका अनुसार प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा रहेका देशभरका १५ पहाडी जिल्ला प्रहरी कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा धादिङले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको हो।
मूल्याङ्कनमा अपराध नियन्त्रण तथा अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, राजस्व छली तथा भन्सार चोरी नियन्त्रण, पुराना मुद्दाको अनुसन्धान र फैसला कार्यान्वयनजस्ता सूचकमा धादिङ प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
यसैगरी कार्यालय व्यवस्थापन, अभिलेख संरक्षण, राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी परिचालन, अनुशासन कायम र विपद् व्यवस्थापनका क्षेत्रमा पनि धादिङ प्रहरीको कार्यसम्पादन प्रभावकारी रहेको मूल्याङ्कनमा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार स्थानीय तहसँगको समन्वयमा सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध अभियान सञ्चालन गर्दै अपराध न्यूनीकरणका प्रयासलाई निरन्तर अघि बढाइएको छ।
डीएसपी दाहालले कार्यसम्पादन मूल्याङ्कन प्रणालीले प्रहरी संगठनभित्र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गरेको उल्लेख गर्दै यसले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।






