FLASH NEWS

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती आज श्रद्धापूर्वक मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २९, सोमबार (२ महिना अघि)
  • १२०

    Shares

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती आज श्रद्धापूर्वक मनाइँदै

काठमाडौं: नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

संस्कृत भाषामा रचित रामकथालाई नेपालीमा भावानुवादसहित ‘रामायण’का रूपमा प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यलाई अमूल्य योगदान दिएका छन्। उनले रचना गरेको ‘रामायण’ आज पनि नेपालीका घरघरमा सस्वर पाठ गर्ने परम्परा कायम छ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत भावनात्मक रूपमा एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने प्रेरणा दिएपछि नेपाली भाषामा रामायण रचना गर्ने प्रेरणा मिलेको जनविश्वास छ।

‘रामायण’का अतिरिक्त ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा विभिन्न फुटकर रचनाहरू पनि उनका चर्चित कृति हुन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतनाको विकासमा उनको योगदान ऐतिहासिक मानिन्छ।

भानुजयन्तीका अवसरमा आज देशभर आदिकविको प्रतिमामा माल्यार्पण, प्रभातफेरी, रामायण वाचन तथा भाषा, साहित्य र संस्कृतिसम्बन्धी विविध कार्यक्रम आयोजना गरिएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित आदिकवि भानुभक्तको प्रतिमामा पनि विशेष श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ।

भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद्लगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले पनि आज विशेष कार्यक्रम गर्दै छन्।

नेपालबाहिर भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न देश तथा स्थानमा पनि भानुभक्तको जन्मजयन्ती श्रद्धापूर्वक मनाइँदै आएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस