






४७
Shares
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज र आज राति भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।



महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेकाले मौसम बदली भई वर्षाको गतिविधि बढेको हो।
हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग, साथै कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने पूर्वानुमान छ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धेरै स्थान, गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले मनसुन सक्रिय रहेकाले भारीदेखि अति भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै यस्ता मौसमीय गतिविधिले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने जनाएको छ।






