FLASH NEWS

आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा र सुदूरपश्चिम–पश्चिम तराईमा तातो लहरको जोखिम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ १४, आईतबार (१ घण्टा अघि)
  • २९

    Shares

आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा र सुदूरपश्चिम–पश्चिम तराईमा तातो लहरको जोखिम

काठमाडौं: जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी ३–४ दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ।

हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ भने देशका अन्य अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै, सुदूरपश्चिम प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि थोरै स्थानमा वर्षा हुने अनुमान छ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस