
३१
Shares
काठमाडौँ — हाल नेपालमा पश्चिमी, स्थानीय तथा मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।
हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने लुम्बिनी र कर्णाली प्रदेशका तराई भू–भागमा मौसम मुख्यतः सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो र राति देशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई भू–भागमा सामान्यतया बदली रहनेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
तराई क्षेत्रमा कोशी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यता पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो हावा (लु) चल्ने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मीका कारण तातो दिन रहने महाशाखाको पूर्वानुमान छ।






