FLASH NEWS

धुनीबेसी–९ मा ‘वडा अध्यक्षसँग बालबालिका’ कार्यक्रम सम्पन्न, विद्यालयलाई ५ थान गिटार हस्तान्तरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ ४, बिहिबार (१ घण्टा अघि)
  • २०

    Shares

धुनीबेसी–९ मा ‘वडा अध्यक्षसँग बालबालिका’ कार्यक्रम सम्पन्न, विद्यालयलाई ५ थान गिटार हस्तान्तरण

धादिङ:  धुनीबेसी नगरपालिका–९ मा बालबालिकाको प्रतिभा विकास तथा अतिरिक्त क्रियाकलापलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘वडा अध्यक्षसँग बालबालिका’ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत धुनीबेसी–९ स्थित डिल्ली सावित्री माध्यमिक विद्यालय लाई ५ थान गिटार हस्तान्तरण गरिएको छ।

वडा अध्यक्ष माधव सिलवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरूमा संगीतप्रतिको रुचि विकास गर्न तथा उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गिटार प्रदान गरिएको बताइएको छ। गिटार हस्तान्तरणसँगै विद्यालयमा विद्यार्थीहरूलाई गायन तथा वाद्यवादनसम्बन्धी आधारभूत कला सिकाउने व्यवस्था पनि गरिने जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सिलवालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै कला, संस्कृति र संगीतको ज्ञान पनि आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उपलब्ध गराइएका सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो।

उहाँले आगामी दिनमा पनि वडा कार्यालयले बालबालिकाको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सिर्जनशीलता प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयमा संगीत सिकाइका लागि आवश्यक सामग्री उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई नयाँ अवसर प्रदान गर्ने बताएका थिए।

विद्यालय प्रशासनले प्राप्त गिटारको माध्यमबाट विद्यार्थीहरूलाई नियमित रूपमा संगीत तथा गायन कला प्रशिक्षण प्रदान गरिने जनाएको छ। यसबाट विद्यालयमा अध्ययनरत बालबालिकाको प्रतिभा प्रस्फुटन हुनुका साथै सांगीतिक क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। वडाले  सञ्चालन गरिएको उक्त कार्यक्रमले बालबालिकाको क्षमता विकाससँगै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस