काठमाडौँ: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस प्रणालीको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। अन्य तराई क्षेत्रको मौसम भने मुख्यतः सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तातो दिनको अवस्था रहने सम्भावना छ।
आज राति कोशी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।