













३६
Shares
काठमाडौं : इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ। अप्रिलमा भएको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष तथा ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ।



यस आक्रमणपछि इजरायली सेनाले आवश्यक परे जुनसुकै बेला जवाफी कारबाही गर्न सकिने चेतावनी दिएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने यस आक्रमणलाई एक सातासम्म जारी रहने निरन्तर प्रहारको सुरुवात भएको दाबी गरेको छ।
इजरायली रक्षा बल (आईडीएफ) का अनुसार इरानले प्रहार गरेका अधिकांश मिसाइलहरू आकाशमै सफलतापूर्वक निष्क्रिय पारिएका छन्। आक्रमणपछि सुरक्षित आश्रयस्थलमा बस्न निर्देशन दिइएका नागरिकहरूलाई अहिले बाहिर निस्कन अनुमति दिइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयमता अपनाउन तथा प्रतिशोधात्मक कदम नचाल्न आग्रह गरेका छन्।
ट्रम्पले इरान र इजरायल दुवैले एकअर्कामाथि आक्रमण गरिसकेको उल्लेख गर्दै अब थप तनाव नबढाउन दबाब दिएका छन्। फक्स न्युजका अनुसार उनले इरानलाई सम्बोधन गर्दै भने, “तपाईंहरूले मिसाइल प्रहार गरिसक्नुभयो, अब यतिमै रोकिनुस् र वार्ताको टेबुलमा फर्किनुस्।”
ट्रम्पले आफू इरानसँग ऐतिहासिक सम्झौताको नजिक पुगेको दाबी गर्दै जारी तनावका कारण उक्त सम्भावित सम्झौता प्रभावित नहोस् भन्ने चाहना व्यक्त गरेका छन्।
यो तनावको मुख्य कारण आइतबार बिहान इजरायलले लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहका सैन्य अखडाहरूमा गरेको हवाई आक्रमणलाई मानिएको छ। उक्त आक्रमणपछि इरानले प्रतिशोध लिने चेतावनी दिएको थियो। इरानको विदेश मन्त्रालयले इजरायलको ‘आक्रामकता’ विरुद्ध आफ्नो राष्ट्रिय हितको रक्षा गर्न यो कदम चालिएको स्पष्ट पारेको छ।
यता, इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरले इरानको यस कदमको मूल्य उसैले चुकाउनुपर्ने भन्दै कडा प्रतिक्रिया दिएका छन्।
इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामीरले पनि आदेश प्राप्त हुनेबित्तिकै इरानमाथि कारबाही गर्न सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाले जेरुसेलमस्थित आफ्नो दूतावास सोमबारका लागि बन्द गरेको छ। साथै, इजरायलले गाजा क्षेत्रका रफाह र केरेम शालोमसहित सबै प्रमुख नाकाहरू पुनः बन्द गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बेलायती विदेश सचिव यभेट कुपरले दुवै पक्षलाई तत्काल तनाव कम गर्न तथा संयमता अपनाउन आग्रह गरेकी छन्। उनले यो द्वन्द्व कसैको हितमा नरहेको उल्लेख गर्दै क्षेत्रीय स्थिरता र शान्तिका लागि संवाद तथा वार्तालाई नै उत्तम विकल्प बताएकी छन्।






