













३२
Shares
काठमाडौं : नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।



महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावका कारण हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ। तापक्रम वृद्धि भएसँगै गर्मीको प्रभाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशलगायत हिमाली भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश र बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले आगामी केही दिन देशका विभिन्न स्थानमा स्थानीय तथा पश्चिमी प्रणालीको प्रभाव कायम रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेका छन्।






