FLASH NEWS

धादिङ चिनारी’ सार्वजनिक गर्दै धादिङपोष्टले मनायो स्थापना दिवस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २३, शनिबार (५ घण्टा अघि)
  • ३८

    Shares

धादिङ चिनारी’ सार्वजनिक गर्दै धादिङपोष्टले मनायो स्थापना दिवस

धादिङ:   धादिङपोष्टको १२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘धादिङ चिनारी’ स्मारिकाको विमोचन गरिएको छ।

विश्व वातावरण दिवसको अवसर पारेर शुक्रबार नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गाना ले स्मारिकाको विमोचन गर्नुभएको हो।

धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवाल को सभापतित्व तथा नगर प्रमुख ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षाविद्, साहित्यकार, पत्रकार, खेलकुदकर्मी, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

स्मारिकामा धादिङको इतिहास, पहिचान, समाज, संस्कृति, शिक्षा, खेलकुद, पर्यटन तथा समसामयिक विषयवस्तु समेटिएका छन्। धादिङको पहिचान, इतिहास र सम्भावनालाई दस्तावेजीकरण गर्ने उद्देश्यले स्मारिका प्रकाशन गरिएको धादिङपोष्टका सम्पादक राजाराम रिजाल ले जानकारी दिनुभयो।

कार्यक्रमका अवसरमा विभिन्न संस्था तथा व्यक्तित्वलाई कदरपत्र र सम्मान प्रदान गरिएको थियो। शैक्षिक विकास कदरपत्रबाट प्याब्सन धादिङ, विशेष सहयोग कदरपत्रबाट एड्भान्स एकेडेमी, पत्रकारिता प्रवर्द्धन कदरपत्रबाट नेपाल पत्रकार महासंघ धादिङ शाखा, खेलकुद प्रवर्द्धन कदरपत्रबाट जिल्ला खेलकुद विकास समिति धादिङ, कृषि उद्यम तथा बजार प्रवर्द्धन कदरपत्रबाट मण्डली फ्रुट एन्ड भेजिटेबल सप्लायर्स तथा सार्वजनिक सेवा तथा यातायात विकास कदरपत्रबाट ग्रामीण यातायात धादिङ प्रालि लाई सम्मान गरिएको थियो।

त्यसैगरी, धादिङ शिक्षा सम्मान (गणित शिक्षा विशेष) बाट गणित शिक्षक सुरेन्द्र शाह, धादिङ साहित्य सम्मानबाट साहित्यकार डा. नवीनबन्धु पहाडी, धादिङ सामाजिक सेवा सम्मानबाट अन्तर्राष्ट्रिय धादिङ समाज, उदीयमान जनसेवा सम्मानबाट विजय तामाङ तथा धादिङ युवा पत्रकारिता सम्मानबाट पत्रकार बद्री अधिकारी सम्मानित हुनुभएको थियो।

धादिङपोष्टको स्थापना कालदेखि समाचार स्रोत खोजी, सूचना संकलन तथा शैक्षिक सरोकारका विषयवस्तु उजागर गर्न पुर्‍याएको योगदानको कदर गर्दै उत्तम भट्ट लाई विशेष प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले धादिङको इतिहास, संस्कृति र सामाजिक जीवनलाई अभिलेखीकरण गर्ने कार्यमा धादिङपोष्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा जिल्लाको पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए।

धादिङपोष्टले विगत १२ वर्षदेखि जिल्लाका समसामयिक विषय, विकास, शिक्षा, खेलकुद, कृषि, संस्कृति तथा जनसरोकारका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस