












२७
Shares
थाक्रे: थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय परिसरमा महोत्सव सञ्चालन हुने जनाइएको छ।



महोत्सवमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहने विभिन्न प्रतियोगिता तथा प्रस्तुतीकरण समावेश गरिएको छ । वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता , लोक सांस्कृतिक नृत्य प्रतियोगिता , एकल गायन प्रतियोगिता , हस्तलेखन प्रतियोगिता , बेलुन फुट, संगीत कुर्सी, गणित दौड तथा चित्रकला प्रतियोगिता लगायत आयोजना गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।
त्यस्तै विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी, नृत्य प्रस्तुतीकरण र सन्देशमूलक लघु नाटकसमेत महोत्सवको आकर्षणका रूपमा रहनेछन् । प्रत्येक विद्यालयबाट तोकिएको सीमाभित्र रहेर सहभागी गराउन अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय तथा विद्यार्थीहरूले जेठ ७ गतेभित्र कार्यालय समयमा दर्ता गरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । कार्यक्रम सम्बन्धी समन्वयका लागि विभिन्न प्रतियोगिता अनुसार सम्पर्क व्यक्तिहरू समेत तोकिएको छ ।
गाउँपालिकाले “हाम्रा बालबालिका, हाम्रो शान – सिर्जनशीलता, संस्कृति र चेतनाको पहिचान” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको महोत्सवले बालबालिकामा आत्मविश्वास, प्रतिभा र सांस्कृतिक चेतनाको विकास गर्ने विश्वास व्यक्त गरेको छ ।
मिडिया पार्टनर टोलटोलको खबर रहेको छ।







