










३३
Shares
काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।



महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बाँकी हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।






