










७२
Shares
काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै, मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको पनि प्रभाव देखिएको छ।



हाल कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको विभागले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी प्रदेश को हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति भने कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि विभागले जनाएको छ।






