










५६
Shares
काठमाडौँ: सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले विगतमा निर्धारण गरिएका सङ्गीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने माग गरेका छन्।



ती संस्थाहरूले आज आयोजित संयुक्त भेलापछि जारी गरेको विज्ञप्तिमा रेडियोहरूको खस्कँदो आर्थिक अवस्था तथा दिगोपनामा देखिएको चुनौतीलाई ध्यानमा राख्दै रोयल्टी दर पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
भेलाले यही वैशाख २५ गते भक्तपुर एफएम का सञ्चालकमाथि सङ्गीत रोयल्टी सङ्कलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडप्रति आपत्ति जनाएको छ। संवाद जारी रहेकै अवस्थामा गरिएको धरपकड र मुद्दा प्रक्रियाले स्रष्टा र एफएम रेडियोबीचको सम्बन्धमा दरार पैदा गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ।
विज्ञप्तिमा ऐन–कानुनको गलत व्याख्या गर्दै व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी तथा सञ्चालकलाई अपराधीसरह व्यवहार गर्ने, फौजदारी मुद्दा दायर गर्ने र धरपकड गर्ने कार्य बन्द गर्न आग्रह गरिएको छ। साथै, प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २७ को दुरुपयोग गर्दै दफा २५ अन्तर्गतको देवानी विषयलाई फौजदारी मुद्दामा रूपान्तरण गरी त्रसित पार्ने कार्य पनि बन्द गर्नुपर्ने माग भेलाले गरेको छ।






