










६१
Shares
काठमाडौंः नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।



हाल मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । ती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।






