FLASH NEWS

पश्चिमी वायुको प्रभावका कारण आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख १३, आईतबार (६ घण्टा अघि)
  • ३८

    Shares

पश्चिमी वायुको प्रभावका कारण आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको छ।

आज राति देशका हिमाली तथा पहाडी भागमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

यसैबीच, देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ। ती क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस