





४२
Shares
काठमाडौँ: नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा फेरबदल आएको छ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ। कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज बिहीबार कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहने अनुमान गरिएको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहने सम्भावना छ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको छ।
तराई क्षेत्रमा मौसम स्थिर रहने भए पनि पहाडी तथा हिमाली क्षेत्रमा भने केही समय बदलीसँगै हल्का वर्षाको क्रम जारी रहने देखिएको छ।






