FLASH NEWS

दामेचौरमा जनभोजन कार्यक्रमको १७औँ वार्षिकोत्सव सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २८, शनिबार (१ हप्ता अघि)
  • १५९

    Shares

दामेचौरमा जनभोजन कार्यक्रमको १७औँ वार्षिकोत्सव सम्पन्न

थाक्रे ,धादिङ :   धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरस्थित प्रेम सागर फाउन्डेशन नेपालद्वारा सञ्चालित जनभोजन कार्यक्रमले आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ। वि.सं. २०६५ साल चैत्र २८ गतेबाट सुरु भएको उक्त कार्यक्रमले शनिबार एक विशेष समारोहका बीच वार्षिकोत्सव सम्पन्न गरेको हो।

स्थापनाकालदेखि नै दैनिक रूपमा ५ सयभन्दा बढी विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई निःशुल्क भोजन उपलब्ध गराउँदै आएको यस कार्यक्रमले पछिल्ला वर्षहरूमा आफ्नो सेवा विस्तार गर्दै धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४, ५, ७, ८ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ र १२ का १८ वटा विद्यालयमा दैनिक २ हजारभन्दा बढी विद्यार्थीलाई दिवा खाजा वितरण गर्दै आएको कार्यक्रमका व्यवस्थापक भोला राउतले जानकारी दिनुभयो।

संस्थाका महासचिव दुर्गादत्त घिमिरेका अनुसार कार्यक्रम सञ्चालनका लागि वार्षिक रूपमा करिब १ करोड ४० लाख ३५ हजार ३२८ रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ भने विभिन्न दाताहरू र संस्थाहरूबाट करिब ५४ लाख रुपैयाँ आम्दानी हुने गरेको छ। हाल दैनिक करिब ४० हजार रुपैयाँ खर्च भइरहेको उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जनभोजन कार्यक्रमले विद्यार्थी र विद्यालयमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै पालिकाबाट प्रदान गरिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रजनी लामाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमराज ढुंगेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाक्रे गाउँपालिकाका पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नम्बर ५ का अध्यक्ष सन्तबहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष युवराज खतिवडा, थाहा–१२ का वडा अध्यक्ष टिकाराम तामाङ, धादिङ र मकवानपुरका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, सहयोगी दातालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस