
७८
Shares
धादिङ: धादिङ जिल्लाको दीगो विकास र आर्थिक समृद्धिलाई केन्द्रमा राखी आयोजना गर्न लागिएको १०औँ धादिङ महोत्सव–२०८२ यही माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ।



“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार : कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवको औपचारिक उद्घाटन माघ १५ गते बिहान ११ बजे धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका–३ मा हुनेछ।
उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यस महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना तथा जलस्रोतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय उद्यमीका उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने तथा समग्र आर्थिक गतिविधि विस्तार गर्नु रहेको आयोजकको भनाइ छ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवलाई सफल बनाउन व्यवसायी, किसान, युवा, सरोकारवाला निकाय तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि हार्दिक आमन्त्रण गर्नु भएको छ।
त्यसैगरी, संघका महासचिव तिलक सिम्खडाका अनुसार महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, औद्योगिक तथा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकारका स्टल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिनेछ।






