
३३
Shares
काठमाडौं: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ।



वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र विवेक बढ्ने धार्मिक विश्वास रहिआएको छ। यस अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। विशेषगरी विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने जनविश्वास रहेको छ।
चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्ने गर्छन्।
विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आफ्ना कला–साधनाका वस्तु—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानी पूजा–आराधना गर्ने चलन छ। तान्त्रिक परम्परामा भने सरस्वतीलाई तारादेवीका रूपमा तन्त्रसाधनाका लागि आराधना गरिन्छ।
सूर्य उत्तरायण लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले ती शुभकार्य गरिँदैनन्। यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउनुका साथै नाक–कान छेड्ने चलन पनि छ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती तथा ललितपुरको लेलेलगायत देशका विभिन्न सरस्वती मन्दिरहरूमा पूजाआजाका लागि भक्तजन, विशेषगरी विद्यार्थीहरूको घुइँचो लाग्ने गरेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धिको विकास भई चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वास छ।
वसन्त श्रवण: यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार शुक्रबार बिहान १०ः२७ बजेको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम तय गरिएको छ।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यहरू, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। कार्यालयका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।






