
३८
Shares
काठमाडौँ: नेपाली सनातन धर्मावलम्बीले आज पौष शुक्ल पूर्णिमादेखि एक महिने श्रीस्वस्थानी व्रत सुरु गरेका छन्। पञ्चाङ्गअनुसार शनिबार पूर्णिमा २३ घडी १६ पलासम्म अर्थात् अपराह्न ४ बजेर १५ मिनेटसम्म रहेको छ।



पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत बस्ने धार्मिक परम्परा छ। विधिपूर्वक व्रत बस्ने व्रतालुले प्रत्येक दिन स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा–आराधना गर्नुका साथै स्वस्थानी व्रतकथा श्रवण गर्ने गर्दछन्।
व्रतको अन्तिम दिन माघ शुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल, नैवेद्य, जनै, पान–सुपारीलगायत सामग्री १०८ को संख्यामा अर्पण गर्ने परम्परा रहेको छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
स्वस्थानी व्रतको अवधिमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको प्रमुख गन्तव्य बन्छन्। यसैगरी गोकर्ण, साँखुस्थित शालीनदीलगायत विभिन्न तीर्थस्थलमा पनि व्रतालुको उल्लेख्य भीड लाग्ने गर्दछ। यी तीर्थस्थलहरूको महिमा स्वस्थानी व्रतकथामा वर्णन गरिएको छ।
विधिपूर्वक व्रत बस्न नसक्ने श्रद्धालुले पनि बिहान वा साँझ स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने परम्परा रहेको छ। स्वस्थानीको महिमा समेटिएको ३१ अध्यायको स्वस्थानी कथा नेपाली भाषामा सर्वसुलभ छ। सुरुमा पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा पछि नेपाली भाषामा अनुवाद गरिएको धार्मिक ग्रन्थकारहरूले बताएका छन्।
स्वस्थानी व्रतकथाअनुसार सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशअनुसार स्वस्थानी व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको उल्लेख छ। त्यस्तै गोमा, चन्द्रावतीलगायत पात्रले पनि स्वस्थानी व्रत गरी इच्छाअनुसारको वरदान पाएको कथामा वर्णन गरिएको छ।








