FLASH NEWS

आज साउन १५ नेपालभर परम्परागत रूपमा खिर खाने पर्व मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण १५, शुक्रबार (१ घण्टा अघि)
  • २८

    Shares

आज साउन १५ नेपालभर परम्परागत रूपमा खिर खाने पर्व मनाइँदै

काठमाडौं: आज साउन १५ गते नेपालभर परम्परागत रूपमा खिर खाने पर्व मनाइँदै छ। असार १५ गते दही–चिउरा खाने र साउन १५ गते खिर खाने चलन नेपाली समाजमा प्राचीनकालदेखि मौलिक सांस्कृतिक परम्पराका रूपमा रहिआएको छ।

वर्षायाममा पर्ने साउने झरीका बेला तातो खिर स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका कारण यो परम्परा बसेको मानिन्छ। दूध, चामल, चिनी तथा गरमसलालगायत सामग्री मिसाएर बनाइने खिर पोषणयुक्त र सात्विक आहारका रूपमा पनि परिचित छ।

संस्कृतमा पायस’भनिने खिरलाई वैदिक परम्परामा विशेष महत्त्व दिइएको छ। पितृकार्य, श्राद्ध तथा विभिन्न देवकार्यमा पायस अनिवार्यजस्तै मानिने उल्लेख धार्मिक ग्रन्थहरूमा पाइन्छ। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका अवसरमा गाईको दूधबाट खिर बनाउने परम्परा कायम राखेका छन्।

साउन महिनामा गाउँघरमा खेतीपातीको मुख्य काम सकिने, हरियाली बढ्ने र गाईभैँसीले पर्याप्त दूध दिने भएकाले घरमा दूधको उपलब्धता पनि बढी हुन्छ। यही अवसरमा इष्टमित्र, आफन्त तथा छोरीचेलीलाई निम्तो गरेर खिर खुवाउने सामाजिक परम्परा विकास भएको विश्वास गरिन्छ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय हुने धार्मिक विश्वासका कारण खिरलगायत मिठाइ विधिपूर्वक चढाउने चलन पनि छ। यद्यपि साउन १५ मै खिर खानुपर्ने भन्ने स्पष्ट शास्त्रीय प्रमाण भने उपलब्ध छैन।

नेपाली समाजमा चामलको खिरसँगै सावदाना, सेवई, मकै, गाजरलगायत विभिन्न परिकारबाट पनि खिर बनाइन्छ। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खिर खाने चलन पनि केही स्थानमा प्रचलित छ। धार्मिक विश्वासअनुसार खिर सेवन गर्नुअघि देवतालाई चढाउने परम्परा पनि रहिआएको छ।

नेपाली बृहत् शब्दकोशले खिरलाई “दूधमा चामल, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट खाद्य पदार्थ (पायस)” भनेर परिभाषित गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस