












२७
Shares
काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



विभागका अनुसार आइतबार दिउँसो कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना पनि रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।






