
६१
Shares
धादिङ : धुनिवेशी नगरपालिकाको १८ औँ अधिवेशन तथा नगरसभा सम्पन्न भएको छ। नगर कार्यपालिकाको कार्यालय जुगेडीमा आयोजित उक्त नगरसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक कार्यप्रगतिको समीक्षा गरिएको थियो।
नगरसभामा नगरप्रमुख बालकृष्ण आचार्यले कृषि, पशुपालन, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम विकास, सहकारी तथा सडक पूर्वाधारका क्षेत्रमा नगरपालिका सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत सेवामा गुणस्तर र पहुँच अभिवृद्धि गर्दै सडक निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। साथै, सकारात्मक परिवर्तन, विकास र समृद्धिमार्फत “समृद्ध धुनिवेशी, सुखी नगरवासी” को अवधारणा साकार पार्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
उपप्रमुख सुरज उप्रेतीले फागुन मसान्तसम्मको चालु तथा पुँजीगत खर्चको विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नगर तथा वडास्तरका विभिन्न योजना सम्पन्न भएका छन् भने केही योजना निर्माणको चरणमा रहेका छन्।
समीक्षाका क्रममा नगर क्षेत्रमा हासिल भएका उपलब्धि, देखिएका चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबारे छलफल गरिएको थियो। साथै योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सुझावहरू समेत संकलन गरिएको थियो।
नगरसभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। नगरपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाबीच समन्वय गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






