FLASH NEWS

देशभर बदली, मेघगर्जन र असिनासहित वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २५, बुधबार (८ घण्टा अघि)
  • ५६

    Shares

देशभर बदली, मेघगर्जन र असिनासहित वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह

काठमाडौँ :    हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदली हुने अवस्था देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। यद्यपि, देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने सम्भावना छ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, साथै मधेश प्रदेश र कोशी तथा बागमती प्रदेशका तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा पहाडी र हिमाली क्षेत्रका साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षाको सम्भावना रहेकाले सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस