१५
Shares
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर धार्मिक श्रद्धा र उल्लासका साथ मनाइँदैछ।



तीजका अवसरमा व्रतालु महिलाहरूले आज शिव–पार्वतीको विशेष पूजा–आराधना गर्ने गर्दछन्। यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
धार्मिक कथनअनुसार, सत्ययुगमा आजकै दिन पार्वतीले निराहार व्रत बसी महादेवलाई पति रूपमा प्राप्त गरेकी थिइन्। त्यसैले आज निराहार व्रत बसेर विधिपूर्वक शिव–पार्वतीको पूजा–आराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ।
यही धार्मिक विश्वासका साथ आज बिहानैदेखि काठमाडौंस्थित पशुपतिनाथ मन्दिरलगायत देशभरका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ।
तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारैवटा ढोका खोलिएका छन्। भक्तजनले मन्दिर प्रवेश गरेको बढीमा दुई घण्टाभित्र दर्शन गरी फर्किन सक्ने गरी दर्शन व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
भक्तजनले सामान्यतया आधा घण्टामै दर्शन गर्न सक्ने गरी स्वयंसेवक, सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिएको कोषले जनाएको छ।






