













३९
Shares
|xr:d:DAF0a2He6ZM:134,j:2865831251950541562,t:24011914
काठमाडौं : आज निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। प्रत्येक वर्ष जुन ४ मा विश्वभर यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८२ अगस्ट १९ मा घोषणा गर्दै प्रत्येक वर्ष जुन ४ लाई ‘आक्रमणका निर्दोष बालबालिका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो। यस दिवसको मुख्य उद्देश्य विश्वभर शारीरिक, मानसिक तथा भावनात्मक दुर्व्यवहारका शिकार भएका बालबालिकाले भोग्नुपरेको पीडाप्रति ध्यानाकर्षण गराउनु हो। साथै, बालअधिकारको संरक्षणप्रति संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धतालाई पुनः स्मरण गराउनु पनि यस दिवसको उद्देश्य हो।
अध्ययनहरूका अनुसार न्यून सामाजिक–आर्थिक अवस्था भएका परिवारका बालबालिकामा दुर्व्यवहार र उपेक्षाको दर उच्च आय भएका परिवारका बालबालिकाको तुलनामा पाँच गुणासम्म बढी रहेको छ। अमेरिकामा मात्रै वार्षिक ७ लाखभन्दा बढी बालबालिका विभिन्न प्रकारका दुर्व्यवहारको शिकार हुने गरेको तथ्यांक छ।
विश्वभर घरेलु हिंसा, सशस्त्र द्वन्द्व तथा अन्य विभिन्न संकटका कारण बालबालिकामाथि हुने आक्रमण र दुर्व्यवहार व्यापक रूपमा देखिँदै आएको छ। यस्ता घटनाले बालबालिकाको सुरक्षित, सम्मानजनक र अधिकारपूर्ण जीवन बाँच्ने आधारभूत अधिकारमाथि गम्भीर असर पारिरहेको छ।
विश्वभरका करिब १० करोड बालबालिकाले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम र अभियानमार्फत बालअधिकारको संरक्षण तथा प्रवर्द्धनप्रति ऐक्यबद्धता जनाउने गरेका छन्।









