काठमाडौं : हाल नेपालको पश्चिमी भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावका कारण हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतः मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ।
आज राति कोशी र मधेस प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मुख्यतः मौसम सफा रहने अनुमान गरिएको छ। कोशी र मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।