













२३
Shares
धादिङ : गल्छी गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै विभिन्न विद्यालय र बालविकास केन्द्र समायोजन गरेको जनाएको छ ।



गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार “सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७” बमोजिम विद्यालय समायोजन प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको हो ।
शिक्षा अधिकृत धिरज बस्नेतका अनुसार विद्यार्थी संख्या, शैक्षिक अवस्था तथा व्यवस्थापनको अवस्थालाई आधार मानी समायोजन गरिएको हो । उहाँका अनुसार ९ वटा विद्यालय तथा बालविकास केन्द्रलाई अन्य विद्यालयमा समायोजन गरिएको छ भने एउटा विद्यालयमा बालविकास कक्षा मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ ।
समायोजन भएका विद्यालयहरूमा कालिदेवी आधारभूत विद्यालय, सुन्टार आधारभूत विद्यालय, रिपछाप बालविकास केन्द्र, शिवालय आधारभूत विद्यालय, धादिङ आधारभूत विद्यालय, भैरवी आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, असारे आधारभूत विद्यालय तथा ठाँटीचौर आधारभूत विद्यालय रहेका छन् ।
गाउँपालिकाले समायोजित विद्यालयका विद्यार्थीहरूको विवरण सम्बन्धित विद्यालयमा स्थानान्तरण गरिने जनाएको छ । साथै चलअचल सम्पत्ति व्यवस्थापनका लागि सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै, समायोजित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि शिक्षा, युवा तथा खेलकुद शाखामा उपस्थित भई तोकिएअनुसार विद्यालय छनोट गर्न आग्रह गरिएको छ ।






