FLASH NEWS

आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ८, शुक्रबार (३९ मिनेट अघि)
  • २४

    Shares

आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौंः हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र, साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ। अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसैबीच, काठमाडौं उपत्यकामा आज बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान ५ बजेदेखि उपत्यकाका विभिन्न स्थानमा पानी परेको हो।

उनले भने, “काठमाडौंका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। यो छोटो समयका लागि सक्रिय हुने प्रणाली भएकाले करिब आधा घण्टापछि मौसम क्रमिक रूपमा सुधार हुनेछ।”

तर दिउँसोपछि पुनः मौसम बदली भई बिहीबारजस्तै अपराह्न वा साँझपख फेरि वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस