












२७
Shares
काठमाडौंः हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।



महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।






