
१३५
Shares
धादिङ : राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको ८औँ वार्षिक साधारणसभा तथा वृहत् सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ।



थाक्रे गाउँपालिका–२, सिम्ले स्थित द क्लिफसाइड रिसोर्ट मा सम्पन्न कार्यक्रम जिल्ला अध्यक्ष रजनी लामा को अध्यक्षता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल, केन्द्रीय सचिव रुपक परियार, बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ, बागमती प्रदेश सचिव करण तामाङ, थाक्रे–१० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने, थाक्रे–३ का वडा अध्यक्ष विजय तामाङ, नुवाकोट जिल्ला वरिष्ठ उपाध्यक्ष उत्तम भण्डारी, नुवाकोट जिल्ला सदस्य सुसिला लामा, धादिङका निवर्तमान अध्यक्ष राजाराम डंगोल, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न लोकप्रिय कलाकारहरूको भव्य सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। साथै कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको जिल्ला अध्यक्ष रजनी लामाले जानकारी दिनुभयो।
कार्यक्रममा बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ ले कार्यक्रम सफल भएकोमा शुभकामना व्यक्त गर्दै प्रदेशबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल ले जिल्लामा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा स्थानीय कलाकारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय सरकार तथा आयोजकहरूलाई एकताको सन्देश दिन आग्रह गर्नुभयो।
राष्ट्रिय संगीतकर्मी संघ सधैं कला, संस्कृति, कलाकार र कलाकर्मीको पक्षमा उभिएर काम गर्दै आएको बताउँदै जिल्लाका कलाकारलाई प्राथमिकता नदिइए आवाज उठाउन र एक भएर लाग्न जिल्ला कार्यसमितिलाई आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य ले गीत–संगीत समाजको महत्वपूर्ण अंग भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँपालिका सबै कला संस्कृतिको संरक्षणका लागि प्रतिबद्ध रहेको र पालिकाबाट सम्भव सहयोग गर्ने बताउनुभयो। साथै पछिल्लो समयमा नकारात्मक खालका गीत–संगीत बढ्दै गएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिलाई रोक्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।








