
८३
Shares
धादिङ: धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेमा अवस्थित भुमेस्थान साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।



संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष थापाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा संस्थाको दैनिक कार्यसञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम तथा आगामी नीति तथा कार्यक्रमहरू समेटिएका थिए।
त्यसैगरी, सहकारीका व्यवस्थापक नानु थापाले व्यवस्थापन प्रतिवेदन तथा लेखा समिति संयोजक केदारप्रसाद पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो। वि.सं. २०५० सालमा स्थापना भएको उक्त सहकारीको हाल शेयर पुँजी ३ करोड १६ लाख ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। जगेडा कोष ३ करोड २८ लाख १३ हजार ५४ रुपैयाँ, निक्षेप रकम १३ करोड ४२ लाख ३७ हजार ९ सय ३४ रुपैयाँ र लगानीमा रहेको रकम २५ करोड १२ लाख ७४ हजार ७ सय ७७ रुपैयाँ रहेको व्यवस्थापक थापाले जानकारी दिनुभयो।
सहकारीको भाका नाघेको रकम ९९ लाख ७३ हजार ७ सय रुपैयाँ रहेको छ भने खुद नाफा २४ लाख ६६ हजार ८ सय ६३ रुपैयाँ पुगेको छ। हाल सहकारीको जम्मा पुँजी तथा दायित्व ३१ करोड रुपैयाँभन्दा बढी रहेको छ। संस्थामा हाल २०४ वटा समूह तथा १ हजार २ सय ७९ जना शेयर सदस्य आबद्ध रहेका छन्। साधारण सभाका अवसरमा सहकारीले उत्कृष्ट शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मान समेत गरेको अध्यक्ष थापाले बताउनुभयो।
कार्यक्रममा थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा लगायतको विशेष आतिथ्यता रहेको थियो भने थाक्रे गाउँपालिकाभित्र रहेका विभिन्न साना किसान सहकारीका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।









