
४६
Shares
धादिङ : धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ मा ‘गल्छी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ आयोजना हुने भएको छ। भौगोलिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।



राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल मुख्य आयोजक रहेको महोत्सव आगामी २०८२ साल पौष २ गतेदेखि पौष १५ गतेसम्म सञ्चालन हुनेछ। गल्छी–८ मा तामाङ, मगर, क्षेत्री–ब्राह्मणलगायत विभिन्न समुदायको बसोबास रहेको छ भने यहाँको मुख्य पेसा कृषि हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई महोत्सवमार्फत चिनाउने प्रयास गरिएको आयोजकको भनाइ छ।
‘नेपाली मौलिक लोक संस्कृतिको छुट्टै पहिचान, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा कृषि, व्यापार, मनोरञ्जन तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखिएको छ। महोत्सवमा नुवाकोट र धादिङ क्षेत्रका विशिष्ट कृषि उपज मास, पिडालु, स्ट्रबेरी, कफीलगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री गरिनेछ। साथै स्थानीय हस्तकला तथा औद्योगिक सामग्रीसमेत प्रदर्शनीमा राखिने जनाइएको छ।
मनोरञ्जनतर्फ राष्ट्रिय कलाकार ज्योति मगर, प्रिति आले, पशुपति शर्मा, प्रमोद खरेल, रचना रिमाल, सुगम पोखरेल, एलिना चौहान तथा इन्द्रेणी टिमलगायतको सांगीतिक प्रस्तुति रहनेछ। यसका साथै लोकदोहोरी कार्यक्रम, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक झाँकीहरूले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। नेवारी, तामाङ र मगर समुदायका परम्परागत खानाका स्टलहरू तथा ट्राउट माछाका परिकारहरू पनि महोत्सवका प्रमुख आकर्षण रहनेछन्।
महोत्सवमा ८० देखि १०० वटा स्टल रहने व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र जेष्ठ नागरिकका लागि छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न गर्न अनुमानित ५७ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मुख्य प्रायोजक, प्रायोजक तथा सह–प्रायोजकका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्मका प्रचार–प्रसार तथा सम्मानका प्याकेजसमेत उपलब्ध गराइएको छ।
यसै अवसरमा गल्छी बगर रिसोर्टको समन्वयमा मोटरबोट सयरको व्यवस्था पनि गरिनेछ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक तथा स्थानीयवासीले व्यक्त गरेका छन्।








