
५२
Shares
धादिङ: धादिङको गल्छी गाउँपालिका–८ रानिमालामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गल्छी तामाङ समाज तथा निङ्गमा सेडुब दार्गेलिङ असारे गुम्बाको संयुक्त आयोजनामा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो।



२८६२ ता ल्हो (घोडा वर्ग) को अवसरमा आयोजना गरिएको कार्यक्रममा तामाङ समुदायको मौलिक कला, संस्कृति, भाषा र परम्परालाई झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा तामाङ समुदायको परम्परागत भेषभूषा, नृत्य, गीत तथा धार्मिक सांस्कृतिक झाँकीले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहेको थियो। कलाकारहरूको प्रस्तुति मार्फत स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्नुका साथै रानिमालालगायत आसपासका क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास रहेको छ। यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निङ्गमा सेडुब दार्गेलिङ असारे गुम्बाका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रीय सल्लाहकार सदस्य तथा पूर्व महासचिव कुमार ब्लोन प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्लोनले सोनाम ल्होछार तामाङ समुदायको पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण चाड भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले भावी पुस्तालाई आफ्नो संस्कृतिप्रति जागरुक बनाउन मद्दत गर्ने बताउनुभयो।
यस्तै कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, वडा अध्यक्ष विशाल लुङ्गेली मगरलगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न स्थानीय तह, समाज र गुम्बाहरूको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका थिए।
कार्यक्रमका क्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। सहभागी दर्शकहरूले कार्यक्रमलाई उत्साहपूर्वक अवलोकन गरेका कार्यक्रम संयोजक इन्द्र तामाङले टोलटोलको खबरलाइ जानकारी दिनु भयो।
उक्त कार्यक्रमको मिडिया पार्टन टोलटोलको खबर (www.toltolkokhabar.com) रहेको थियो। 







