१००
Sharesधुनिवेशी, धादिङ : धुनिवेशी नगरपालिकामा रहेको नौबिसे स्वास्थ्य चौकीले निर्माणाधिन नगर अस्पतालको भवनबाट सेवा सुभारम्भ गरेको छ । एक कार्यक्रमका बीच नगरपालिका प्रमुख बालकृष्ण आचार्यले नगर अस्पतालको भवनबाट नौविसे स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ गर्नुभएको हो ।
सेवा शुभारम्भ गर्दै नगरप्रमुख आचार्यले धुनिवेशी नगर अस्पतालको सञ्चालनको लागि विभिन्न तयारी गरिरहेको बताउनुभयो । उहाँले नागरिकलाई उपलब्ध हुने स्वास्थ्य सेवामा कुनै किसिमको सम्झौता नगर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । सरकारको एक पालिका एक अस्पतालको योजना अनुरुप धुनिवेशी नगरपालिकामा पनि १० शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो ।
नगरप्रमुख आचार्यले सञ्चारकर्मीसंग कुरा गर्दै केहि समय पछि नगर अस्पतालको रुपमा नागरिकले सेवा पाउने बताए । नौविसे स्वास्थ्य चौकीमा रहेको सेवाहरु जनरल स्वास्थ्य जाँच, एक्स रे, औषधी वितरण लगायतको सेवाहरु नगर अस्पतालकै भवनबाट हुने धुनिवेशी स्वास्थ्य शाखाका प्रमुख ध्रुव अधिकारीले बताउनुभएको छ । अहिलेलाई भने आँखाको जाँच लगायतका अन्य सेवा भने साविककै नौविसे स्वास्थ्य चौकीको भवनबाट हुने स्वास्थ्य चौकीका प्रमुख गिता भट्टले बताउनुभयो ।
नगर अस्पतालमा अझै केही स्वास्थ्य विशेषज्ञ,अस्पतालका थप सेवाहरु र स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्न बाँकी रहेको छ ।
शुभारम्भ कार्यक्रममा नगरप्रमुख आचार्य, वडा अध्यक्षहरु रमेश आचार्य, यदुनाथ पाठक, माधव सिलवाल, मच्छिन्द्र क्याम्पसका प्रमुख प्रमोद पाठक, नौविसे स्वास्थ्य चौकीका प्रमुख गिता भट्ट, पुर्वप्रमुख शिवहरी भट्ट लगायतको उपस्थिती रहेको थियो ।